Bag icon
Text logo
لوڈ ہو رہا ہے...دھک-دھک
SHRAVYA

ساہتیہ پاٹی
لکھیں· salemydop.com
لکھیں· salemydop.com

काठमाडौँ

मुनाको मदनलाई चिठी

प्रिय स्वामी मदन, मेरा प्राण,

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’को परिवेशमा आधारित काल्पनिक पत्र

धेरै माया र सम्झना।

यहाँ आमा र म भगवान्‌का कृपाले जसोतसो छौँ। तिमी जहाँ भए पनि कुशलै रहनू। तिमी भोटको ल्हासा गएको पनि धेरै दिन बिते। अहिलेसम्म तिम्रो एउटा चिठी आएको छैन। कतैबाट भोटका बटुवा फर्केको सुन्दा तिम्रो खबर ल्याएका छन् कि भनी मन हतारिन्छ। तिमीले बिदा हुँदा चाँडै फर्कन्छु भनेका थियौ। त्यही वचन सम्झेर आजसम्म बाटो हेरिरहेकी छु।

मदन, तिमी हिँडेको त्यो बिहान अझै आँखाअगाडि छ। बाटोमा भोक लाग्ला भनी सातु र अलिकति सुकुटी छुट्टाछुट्टै पोका पारी झोलामा राखिदिएकी थिएँ। आमाले पनि घरमा भएको सामलबाट केही थपिदिनुभएको थियो। झोला काँधमा हालेर तिमी हिँड्न लाग्दा मेरो मनले मानेकै थिएन। कति नजानू भनेँ, कति रोएँ। तिमीले मेरो मन बुझाएर चाँडै आउँछु भन्यौ। म भने तिमी डाँडाको घुम्तीमा नहराउन्जेल त्यहीँ उभिएर हेरिरहेँ।

तिमी गएपछि घर साह्रै सुनसान भएको छ। बिहान आँगन बढार्दा, जाँतोमा अन्न पिस्दा, चुलोमा आगो सल्काउँदा तिम्रै सम्झना आउँछ। साँझपख कसैको पाइला सुनियो भने तिमी आयौ कि भनी ढोकासम्म पुग्छु। कहिलेकाहीँ तिमी बाहिरबाट आएर पानी माग्छौ कि जस्तो लाग्छ। अनि तिमी त परदेशमा छौ भन्ने सम्झँदा मन अमिलो हुन्छ।

अस्ति साँझ आमा र म भात खान बसेका थियौँ। आमाले दुई गाँस खानुभयो कि थालमा हात रोक्नुभयो। मैले किन नखानुभएको भनी सोध्दा, “बुहारी, यो बेला मेरो मदनले के खायो होला?” भन्नुभयो।

मसँग त्यसको जवाफ थिएन। तिमीलाई बाँधिदिएको सातु सम्झेँ। त्यो त उहिल्यै सकिइसक्यो होला। बाटोमा तिमीले पेटभरि खान पाएका छौ कि छैनौ? भोटको चिसोमा तातो चिया पाएका छौ कि छैनौ? थाकेको बेला कुनै पाटीपौवामा बास पाएका छौ कि छैनौ? यस्तै कुरा मनमा खेलिरहन्छन्।

आमा दिनदिनै कमजोर हुँदै जानुभएको छ। बिहान उठेर ढोकाको सँघारमा बस्नुहुन्छ। बाटामा कोही बटुवा देखियो भने आँखा तन्काएर हेर्नुहुन्छ। कहिले मलाई बोलाएर, “बुहारी, त्यो आउने मानिस मदन त होइन?” भनी सोध्नुहुन्छ। म बाहिर गएर हेर्छु, तर तिमी हुँदैनौ। उहाँलाई होइन भन्न पनि कति गाह्रो लाग्छ।

एक दिन आमाले मेरो हात समातेर भन्नुभयो, “बुहारी, म बूढी भएँ। मर्ने बेलासम्म मेरो छोराको मुख देख्न पाए हुन्थ्यो।”

त्यो सुनेर मेरो मन भक्कानियो। आमाका अगाडि आँसु लुकाएँ। भित्र पसेर एक्लै रोएँ। मदन, तिमीले आमाको यस्तो दशा देखेका भए कति दुःखी हुन्थ्यौ होला!

अचेल यहाँ एउटा नराम्रो हल्ला सुनिन थालेको छ। ल्हासाबाट फर्कने बाटामा कोही नेपाली बिरामी परेर थलियो रे, उसका साथीहरू पनि छाडेर गए रे भन्छन्। कसैले तिम्रै नाउँसमेत लियो। त्यो कुरा साँचो हो कि झूटो, केही थाहा छैन। तर सुनेको दिनदेखि मेरो मनमा ठूलो डर पसेको छ।

मेरा प्राण, तिमीलाई केही भएको त छैन?

यदि तिमी बिरामी परेका छौ भने तिम्रो हेरचाह कसले गरेको होला? ज्वरले शरीर पोल्दा निधार छामिदिने को होला? तिर्खा लाग्दा पानी पिलाउने को होला? त्यस्तो बिरानो ठाउँमा तिमीले कसलाई आफ्नो दुःख सुनाएका हौला?

तिमी घरमा भएको भए म रातभर जागेर तिम्रो सेवा गर्थेँ। तिम्रो शिर काखमा राख्थेँ। पानी तताएर पिलाउँथेँ। तिमीलाई सञ्चो नहुँदासम्म एकछिन पनि छाड्ने थिइनँ। तर तिमी कहाँ छौ, कस्तो अवस्थामा छौ, त्योसमेत मलाई थाहा छैन।

हिजो राति त तिम्रै सपना देखेँ। तिमी घरको आँगनमा आइपुगेका थियौ। काँधको झोला बिसाएर मलाई हेरी मुस्कुरायौ। म तिमीतिर दौडिएँ। तिम्रो हात समाउन लागेकी थिएँ, त्यत्तिकैमा निद्रा खुल्यो।

उठेर हेर्दा कोठा अँध्यारो थियो। तिमी थिएनौ। सिरानी आँसुले भिजेको रहेछ।

बिहान उठेपछि आमा केही थाहा नपाऊन् भनी मुख धोएर चुलो बाल्न गएँ। तर आमाले मेरो अनुहार हेरेर, “बुहारी, रातभर रोएकी थियौ कि?” भनी सोध्नुभयो। मैले केही होइन भनेँ। उहाँलाई आफ्नो पीर सुनाएर झन् किन रुवाऊँ?

मदन, तिमीले घरको दुःख हटाउन धन कमाउन जान्छु भनेका थियौ। तिम्रो मनमा हामीप्रतिको माया थियो, त्यो म जान्दछु। तर अब धेरै धनको आश नगर। घरमा जे छ, त्यसैले गुजारा गरौँला। कहिले भात पाक्ला, कहिले ढिँडो, कहिले सागसिस्नु खाएर दिन काटौँला। तिमी घरमा हुँदा थोरै भए पनि सबैलाई पुग्थ्यो। तिमी नहुँदा भने पकाएको अन्न पनि मीठो लाग्दैन।

तिमी रित्तो हात फर्किए पनि मलाई केही गुनासो छैन। बरु तिम्रो बाटो हेर्दाहेर्दै आमाका आँखा थाकिसके। उहाँको बुढेसकालमा छोराको साथ चाहिएको छ। मलाई पनि तिमीसँगै बसेर दुःखसुख बाँड्न पाए पुग्छ।

कहिलेकाहीँ तिमी गएको दिन सम्झेर आफैँसँग रिस उठ्छ। अझै केही बेर तिम्रो हात समातेकी भए, अझै अलिकति बिन्ती गरेकी भए, सायद तिमी जाने थिएनौ कि जस्तो लाग्छ। फेरि सम्झन्छु, घरको अभावले तिमीलाई पनि कहाँ सुख दिएको थियो र? तिमी आफ्नो रहरले मात्र गएका थिएनौ।

म तिमीसँग रिसाएकी छैन, मदन। केवल तिमीलाई धेरै सम्झेकी छु।

यो चिठी तिम्रो हातमा परे आफ्नो कुशल समाचार चाँडै पठाउनू। बिरामी छौ भने पहिले सञ्चो हुनू। कठिन बाटोमा एक्लै नहिँड्नू। असल मानिसको साथ लिनू। खानपिनमा होस पुर्‍याउनू। भोटको जाडोबाट शरीर जोगाउनू।

भगवान् पशुपतिनाथसँग बिहानबेलुका तिम्रै कुशलताको प्रार्थना गर्दछु। आमा पनि दिनहुँ भगवान्का अगाडि हात जोडेर तिम्रो नाउँ लिनुहुन्छ। उहाँको एउटै इच्छा आफ्नो मदनलाई फेरि घरमा देख्नु हो।

अरू के लेखूँ, मदन? मनमा कुरा धेरै छन्, तर लेखेर सकिँदैनन्। तिमी अगाडि भएका भए सायद केही बोल्न पनि सक्दिनथेँ होला। तिम्रो मुख हेरिरहन्थेँ, अनि मनभरिका आँसु झार्थेँ होला।

अहिले साँझ पर्न लाग्यो। आमा ढोकामा बसेर बाटो हेरिरहनुभएको छ। म उहाँलाई भित्र बोलाउन जाँदै छु। आज पनि उहाँले सोध्नुहुनेछ, “बुहारी, मदनको केही खबर आएन?”

म फेरि उही जवाफ दिनेछु, “आउँछ आमा, हाम्रो मदन आउँछ।”

तर मदन, त्यो वचन आमालाई दिँदा मेरो मन कति काँप्छ, तिमीलाई के थाहा!

यो चिठी पाए जवाफ पठाउन नबिर्सनू। तिम्रो दुई अक्षर खबर पाए पनि आमा र मेरो मनलाई ठूलो ढाडस हुनेछ।

इति, तिम्रै बाटो हेरिरहेकी,

मुना

ادب
خط

2

0

4

23 بار دیکھا گیا

اکتوبر 30, 2026

© Bhairav Shah · سیل مائی ڈوپ پر پہلی اشاعت: اکتوبر 30, 2026. تمام حقوق لکھنے والے کے ہیں؛ اجازت کے بغیر نقل نہ کریں۔ نقل شدہ تحریر کی رپورٹ کریں

لکھنے والا

B

Bhairav Shah

تبصرے
​
​

لکھنے والا

B

Bhairav Shah

Xtremesoul
پالیسیاںتمام پالیسیاں·ہم سے رابطہ