Xtreme Soul

भगवान राम हिन्दू धर्मका सर्वाधिक सम्मानित र पूजनीय देवताहरूमध्ये एक हुनुहुन्छ। उहाँलाई भगवान विष्णुको सातौँ अवतार मानिन्छ। भगवान राम विष्णुका लोकप्रिय अवतारहरूमध्ये एक हुनुहुन्छ। विभिन्न दानवहरूको संहार र साधुजनको कल्याणका लागि भगवान विष्णु श्री रामको रूपमा अवतरित हुनुभएको थियो।
भगवान श्रीराम
भगवान रामको जन्म त्रेतायुगमा भएको थियो, जुन धर्मग्रन्थहरूमा वर्णित चार युगहरूमध्ये एक हो। आफ्नो उच्च आदर्श र धर्मपरायणताका कारण भगवान रामलाई मर्यादा पुरुषोत्तमका रूपमा पनि चिनिन्छ। भगवान राम अयोध्याका राजा महाराज दशरथका ज्येष्ठ पुत्र हुनुहुन्थ्यो। महाराज दशरथका कौशल्या, सुमित्रा र कैकेयी गरी तीन रानीहरू थिए।
भगवान रामको उत्पत्ति
त्रेतायुगमा महाराज दशरथले सन्तान प्राप्तिको कामनाले ऋष्यशृङ्ग (शृङ्गी ऋषि) को सहायताले अश्वमेध र पुत्रकामेष्टि यज्ञ सम्पन्न गर्नुभएको थियो। यज्ञको समयमा यज्ञ कुण्डबाट दिव्याग्नि प्रकट भयो र उनले महाराज दशरथलाई खीरको एउटा पात्र प्रदान गरे। दिव्याग्निले पुत्र प्राप्तिका लागि राजा दशरथलाई त्यो खीर आफ्ना रानीहरूमा वितरण गर्न भने।
कौशल्याले आधा खीर सेवन गरिन् र सुमित्राले खीरको चौथो भाग सेवन गरिन्। कैकेयीले पनि त्यो खीरको केही भाग सेवन गरेर सुमित्रालाई दिइन्, जसले पुनः त्यसको सेवन गरिन्। फलस्वरूप कौशल्याबाट भगवान राम, कैकेयीबाट भरत तथा सुमित्राबाट लक्ष्मण र शत्रुघ्न नामक जुम्ल्याहा सन्तानको जन्म भयो।
महाराज दशरथका ज्येष्ठ पुत्र भगवान राम र उहाँभन्दा कान्छा भरत हुनुहुन्थ्यो। मान्यता अनुसार लक्ष्मण र शत्रुघ्नको जन्म भगवान रामको जन्मको दुई दिनपछि भएको थियो। भगवान रामको जन्मजयन्तीलाई राम नवमीका रूपमा मनाइन्छ, जुन हिन्दू क्यालेन्डर अनुसार चैत्र महिनाको शुक्ल पक्षमा पर्दछ।
भगवान राम र भरत श्याम वर्णका हुनुहुन्थ्यो भने लक्ष्मण र शत्रुघ्न गौर वर्णका हुनुहुन्थ्यो। धेरैजसो भगवान रामको स्वरूपलाई भगवान कृष्णको जस्तै नीलो वर्णको देखाइन्छ। भगवान श्रीरामले धनुष र पिठ्युँमा बाणले भरिएको तर्कस धारण गर्नुहुन्छ।
रामायणका केही संस्करणहरूका अनुसार भगवान रामको एक दिदी पनि हुनुहुन्थ्यो, जो महाराज दशरथ र उनकी प्रथम पत्नी कौशल्याकी छोरी थिइन्। उहाँको नाम शान्ता थियो र उहाँलाई महाराज रोमपादले धर्मपुत्रीका रूपमा ग्रहण गर्नुभएको थियो। कालान्तरमा शान्ताको विवाह ऋष्यशृङ्ग ऋषिसँग भएको थियो। शान्ताको जन्म महाराज दशरथको अन्य दुई रानीहरू सुमित्रा र कैकेयीसँग विवाह हुनुभन्दा अगाडि भएको थियो।
महाराज दशरथका ज्येष्ठ पुत्र भएकाले स्वभाविक रूपमा भगवान राम नै अयोध्याको सिंहासनका उत्तराधिकारी हुनुहुन्थ्यो। तर कैकेयी आफ्ना छोरा भरतलाई अयोध्याको राजा बनाउन चाहन्थिन्। महाराज दशरथले कुनै समय कैकेयीलाई दुईवटा वरदान दिने वचन दिनुभएको थियो। वचन पालनका लागि राजा दशरथले आफ्ना पुत्र रामलाई चौध वर्षको वनवास दिए।
अयोध्याबाट जाँदा भगवान रामसँग उहाँकी अर्धाङ्गिनी देवी सीता र भाइ लक्ष्मणले पनि वनवास जाने निर्णय गरे। वनवास कालमा भगवान रामले दैत्यराज रावणको वध गर्नुभयो, जसले छलपूर्वक साधुको भेषमा देवी सीताको हरण गरेको थियो। जुन दिन भगवान श्रीरामले रावणको वध गर्नुभएको थियो, त्यस दिनलाई विजयादशमी वा दशहराका रूपमा मनाइन्छ।
चौध वर्षपछि भगवान राम पुनः अयोध्या फर्कनुभयो र राजपाठ सम्हाल्नुभयो। हिन्दूहरूको सर्वाधिक लोकप्रिय पर्व दीपावली, भगवान राम वनवास पुरा गरी पुनः अयोध्या आगमन भएको खुसीयालीमा मनाइन्छ।
भगवान राम एक आदर्श राजा हुनुहुन्थ्यो र उहाँको शासनलाई वर्तमानमा पनि रामराज्यका रूपमा चिनिन्छ। अयोध्यामा धेरै वर्षसम्म शासन गरेपछि भगवान रामले आफ्ना भाइहरूसहित सरयू नदीमा जल समाधि लिनुभएको थियो।
भगवान रामको पारिवारिक विवरण
पिता: दशरथ
माता: कौशल्या (सौतेनी माताहरू: सुमित्रा र कैकेयी)
भाइहरू: लक्ष्मण, भरत र शत्रुघ्न
दिदी: शान्ता
पत्नी: देवी सीता (राजा जनककी छोरी)
छोराहरू: लव र कुश (जसको जन्म सीता त्यागपछि ऋषि वाल्मीकिको आश्रममा भएको थियो)
भगवान राम स्वरूप वर्णन
सामान्यतया भगवान रामलाई नीलो वा श्याम वर्णको र दुई हात भएको स्वरूपमा देखाइन्छ। भगवान रामलाई एक हातमा कोदण्ड नामक धनुष धारण गरेको र अर्को हात वरद मुद्रामा वा बाण समातेको देखाइन्छ। उहाँको काँधमा दिव्य बाणहरू भएको तर्कस सुशोभित रहन्छ। उहाँले सुन्दर पीताम्बर (पहेंलो वस्त्र) धारण गर्नुहुन्छ र उहाँको मुखमण्डल सधैँ प्रसन्न देखिन्छ। केही रूपहरूमा उहाँलाई चार हात भएको (चतुर्भुज) स्वरूपमा पनि देखाइन्छ, जसमा चक्र, पद्म, धनुष र बाण हुन्छन्।
भगवान राम मन्त्र
सामान्य मन्त्र: ॐ श्री रामचन्द्राय नमः। / ॐ रां रामाय नमः।
श्रीराम तारक मन्त्र: श्री राम, जय राम, जय जय राम।
श्रीराम गायत्री मन्त्र: ॐ दाशरथये विद्महे सीतावल्लभाय धीमहि। तन्नो रामः प्रचोदयात्॥
भगवान रामसँग सम्बन्धित चाडपर्वहरू
राम नवमी
दीपावली
दशहरा अथवा विजयादशमी
भगवान रामका प्रमुख एवं प्रसिद्ध मन्दिरहरू
राम मन्दिर, बत्तिसपुतली (काठमाडौं, नेपाल)
राम मन्दिर, जनकपुरधाम (धनुषा, नेपाल)
राम मन्दिर, पशुपति क्षेत्र (काठमाडौं, नेपाल)
राम मन्दिर, पोखरा (कास्की, नेपाल)
श्री रामलला मन्दिर, अयोध्या (उत्तर प्रदेश, भारत)
हरिहरनाथ मन्दिर, सोनपुर (बिहार, भारत)
श्री राम तीर्थ मन्दिर, अमृतसर (पञ्जाब, भारत)
श्री रामराजा मन्दिर, ओरछा धाम (मध्य प्रदेश, भारत)
तिरुवंगड श्री रामास्वामी मन्दिर (केरल, भारत)
कालाराम मन्दिर, नासिक (महाराष्ट्र, भारत)
सीता रामचन्द्रस्वामी मन्दिर, भद्राचलम (आन्ध्र प्रदेश, भारत)
प्रम्बानन राम मन्दिर समूह (योग्याकार्ता, इन्डोनेसिया)
मुनिश्वरन राम मन्दिर (पेनाङ, मलेसिया)
विष्णु मन्दिर राम दरबार (रिचमण्ड हिल, क्यानडा)
राम मन्दिर (ह्युस्टन, अमेरिका)
श्री राम मन्दिर (एजेक्स, क्यानडा)
© Xtreme Soul · salemydop मा पहिलो पटक प्रकाशित: . सर्वाधिकार लेखकमा सुरक्षित; अनुमतिबिना नक्कल नगर्नुहोस्। नक्कल भएको जानकारी दिनुहोस्
लेखक
Xtreme Soul
लेखक
Xtreme Soul